घुम्टो:एक अज्ञात अध्याय

Originally Published : June 13, 2021

Note: This is an another POV to the story घुम्टो so be sure to check that out first before continuing with this story.

“विवाह गर्ने हो मसँग?”, कहिले काँही ऊ अनायसै सोध्ने गर्थ्यो। र म, सधैं झैं स्तब्ध, निरुत्तर। उसँग मेरो चिनजान सानै छँदा भएको हो। समय सँगै हाम्रो सम्बन्ध प्रगाढ पनि हुँदै गएको थियो। उसँग बोल्दा मलाई एक प्रकारको सन्तुष्टि हुन्थ्यो, तर प्रेम? थाहा भएन।

मलाई म एकप्रकारको रहस्य हुँ झैं लाग्छ। एक गहिरो रहस्य जसको वास्तविकता म आफैलाई पनि थाहा छैन। मलाई के चाहिएको हो म स्वयंलाई थाहा छैन। उसले पछिल्लो ५ वर्षमा सायद हजारौं पटक प्रेम प्रस्ताव राख्यो होला, सयौं पटक विवाह गरौँ भन्यो होला र मैले हरेक पटक उसलाई निराश बनाई रहें। उसको प्रेम माथि मलाई कुनै शंका थिएन। धेरै व्यक्तिले म तिमीलाई माया गर्छु भने पनि मलाई वास्तवमै माया गर्ने केवल ऊ थियो। एकदम ख्याल राख्ने गर्थ्यो उसले मेरो। साँझ बिहान फोन गर्थ्यो, फुर्सद नहुँदा म्यासेज। जिन्दगीको हरेक मोडमा मेरो सुझाव खोज्थ्यो। जीवनका घटनाक्रम सबै सुनाउथ्यो, आफ्नी आमालाई झैं सम्मान गर्थ्यो मेरो उसले। तर यति हुँदा हुँदै पनि मेरो यो पत्थर झैं मुटु पग्लिन सकेन, कम से कम प्रेम स्वीकार गर्ने सम्बन्धमा।

उसको लागि मेरो मनमा भावना नभएको पनि होइन। एक प्रकारको प्रेम थियो, बस् अलि फरक खालको। कस्तो? बयान गर्न सक्दिनँ, निराकार प्रेम। सधैं उसको खुसीको कामना गर्थेँ म तर विडम्बना, ऊ भन्ने गर्थ्यो,”तिमीसँग साथ हुँदाको क्षण नै मेरो जीवनमा खुसीको क्षण हो।” यसरी बस् मैले उसको खुसीको कामना गरें तर उसलाई खुसी पार्न सकिनँ। सायद यस्तै यस्तै भावनात्मक दूरीहरुले गर्दा हुँदो हो ऊ र म बीच धेरै पटक झैं-झगडा भने भईरहन्थ्यो तर परालको आगो झैं क्षणिक। सायद पराल मात्र हुँदो हो त जलेर खरानी भै सकिन्थ्यो तर कुरा यहाँ कुरो सानो परालको कुनिऊँको मात्र थिएन, एक विशाल वनको थियो। यहीँ परालको आगोको झिल्कोले कुनै दिन वनमा डढेलो लगाउँछ भनेर मलाई भित्र भित्रै आभास हुन्थ्यो।

एक दिन उसले एक्कासी म्यासेज गर्यो, घरमा विवाहको कुरा चल्यो भनेर। एक हिसाबले खुसी लाग्यो अब उसको विवाह पश्चात म जस्तो विचित्रको प्राणीमा उसले आफ्नो समय बर्बाद गर्दैन भनेर तर मुख्यतः दुःखले पिरोल्यो। म पुन यहीँ सोच्न थालेँ की यदि मेरो मनमा उसको लागि भावना छैन भने म यो विषयमा किन दुःखी हुने? यदि भावना छ भने किन यसलाई मनमा दबाएर राख्ने? सायद म आफूलाई उसको योग्य ठान्दिनँ थिएँ, तर के प्रेमले योग्यता माग्छ र? थाहा भएन। सायद म हाम्रो गन्तव्य बेग्लै छ सोच्थेँ, तर आखिर प्रेम गन्तव्य हो या यात्रा? थाहा भएन। यो यात्राको सुरुवात तिर नै कुनै एक मिठो मोडमा मैले उसलाई हासीँ हासीँ बिदा गर्नु पर्थ्यो तर अब यो बिन्दुमा म न उसलाई गुमाउन चाहन्छु न उसलाई अपनाउन नै सक्छु।

कहिले काँही सोच्थेँ अब म विवाह गर्छु अनि बस् हाम्रो बाटो छुट्टिन्छ र दुवैको लागि सहज हुन्थ्यो तर फेरि म केही सम्झन्थेँ र फेरि त्यो सोच समाप्त हुन्थ्यो। “तिम्रो घरमा आउने जन्ती मलाई लैजाने मलामी हुनेछ”, उसले केही साल अगाडि भनेको थियो। यदि मैले आफ्नो घरबार बसाउँदा कसैको घरबार उठ्छ भने मैले त्यस्तो काम गर्नु हुन्न भनेर। त्यहीं सोचेर नै मैले बरु म कहिले विवाह नै गर्दिन भनेर बसेको थिएँ। सोचेको थिएँ म नभए पछि ऊ पनि गर्दैन र हाम्रो सम्बन्ध बस् यसरी नै सधैंभरि अगाडि बढ्नेछ, साथमा नभए यादमा भनेर। मेरो यो सोच सबै गलत साबित भइसकेको थियो किनकि यो सब सोच्दै गर्दा मेरो हातमा उसको विवाहको निम्तो कार्ड थियो। एक प्रकारको झोंक चल्यो, उसलाई सबै तिर ब्लक गर्दिए, फोन पनि नलाग्ने बनाएँ। मलाई अहिले आएर एक प्रकारको आत्मग्लानी हुन थाल्यो, मैले समयमा सही निर्णय गर्न सकेको भए हाम्रो अहिले एक सानो खुसी परिवार भइसक्यो। खुसी नै हुन्थ्यौं सायद एक अर्काको साथमा तर अब निकै ढिला भइसकेको थियो। अब म जिन्दगीको कठिन मोडमा छु, न म ऊ तर्फ जान सक्छु न ऊ बाट टाढा। सायद मेरो जीवन नै यस्तो कठिन मोडमा आएर सकिनु थियो।

एक दिन रिसको आवेग मा आएर हो या खोइ किन हो उसले भनेको थियो, ” तिमी अरु कसैकी भएको हेर्न तिम्रो विवाहमा भन्दा तिमी यस संसारबाट बिदा भएको हेर्न तिम्रो दाहसंस्कारमा सरिक हुँदा मलाई बढी सन्तुष्टि मिल्ने छ ।” कुनै अर्को प्रसंगमा उसले भनेको थियो,”मेरो विवाहको दिन मलाई घुम्टो भित्र मात्र तिमी भएको हेर्न मन छ।” यदि मेरो विवाहमा आउने जन्ती उसको लागि मलामी हुने हो भने उसको बिहेको जन्ती मेरो लागि के हुँदो हो? आज उसको विवाहको दिन। उसका इच्छाहरु पूरा गरेर मलाई उसलाई विवाहको उपहार दिन मन लाग्यो। कयौं दिन देखि थन्किएको मोबाइल निकाले र उसलाई म्यासेज पठाएँ, “आज तिम्रो विवाहको दिन, म पनि आज विवाह गर्दै छु। ढिला भनेकोमा माफी तर यही म्यासेज भयो तिम्लाई निम्तो। फुर्सद भए आउनु, सेतो घुम्टो ओडेर तिम्रो पर्खाइमा हुनेछु। जन्ती हैन मलामी लिएर आउनु, तिम्रो पर्खाइमा हुनेछु।”……

Leave a comment