घुम्टो

Originally Published : May 12, 2021

“सायद यो म गलत गर्दै छु”, विवाहको अघिल्लो रात मैले सोचे। “तिमी मेरो हुन नसक्ने हो भने बरु म जीवनभर बिहे गर्दिन, एक्लै जीवन गुजार्छु तर अरु कोहीलाई दुलही बनाएर ल्याउने कुरा म सोच्न सम्म नी सक्दिनँ।” यी केही वचन हरु थिए, मैले उनलाई दिएको, सायद ५-७ वर्ष पैले हुँदो हो र भोलि म यी वचन हरु टुक्र्याउदै थिएँ ।

पुराना कुराहरु सोच्दा मनमा एक आत्मग्लानी झैं भइरहेको थियो। कस्तो राक्षस होला म आफ्नो वचनमा अडिन नसक्ने। सोच त थियो जीवन त उनीसँगै कटाउने हो, भए साथमा नभए यादमा भनेर तर परिस्थिति सधैं सोचे झैं नहुने रहेछ। उनको यादले मनमा पारेको बोझ बोकेर म थाकिसकेको थिएँ, सायद जो कोही थाक्दो हो, ११ वर्ष सम्म त्यस्तो व्यक्तिलाई प्रेम गर्नु जसले तिमीलाई प्रेम गर्दैन।

उनको यादले दिने मिठो पीडाको स्वाद समय सँगै खल्लो हुँदै गएको मलाई महसुस हुन्थ्यो। कुराकानी सायद कहिल्यै टुटेन यतिका वर्षहरूमा, सधैं मीठा कुराहरु हुन्थे, तर ती मीठा कुराहरु सँगै मनमा पीडा झन् थपिँदै जान्थ्यो। पीडा यसर्थमा की म त्यस्तो व्यक्तिसँग नजिकिँदै गइरहेको थिए जो मेरो कहिल्यै हुन सक्दैन। म धेरै चोटि सोच्थें, यदि उनी मेरो कहिल्यै नहुने नै हो भने म यति धेरै नजिकिनु हुन्न भनेर। प्रयास नगरेको पनि हैन उनीबाट टाढा हुन तर म सागरको यस्तो गहिराईमा पुगिसकेको थिएँ जहाँबाट तैरिएर बाहिर आउनु असम्भव झैं थियो।

सागरको त्यो गहिराईमा उद्धार गर्न मेरो एकजना टाढाको काका आइपुग्नु हुन्छ, “बाबु अब उमेर पनि भइसक्यो, तिमी विवाह गर। मैले एउटा केटी हेरेको छु।तिम्रो फोटाहरु देखाइसकेको छु उसलाई, मन पराएकी छे। तिमी पनि हेर त उसको फोटो, सारै राम्री छे…” फोनमा केही तस्बिरहरु देखाउनु भयो, म केही बोलिनँ, केही सोधिनँ। आमा बुवा सँग कुरा गरेर काका फर्किनु भयो। “केटी राम्री रहिछे ए केटा, तेरी आमालाई पनि नाति खेलाउन सार्है रहर छ, सोचेर छिटो भन बिहे गर्ने हो कि नाई”, बुवाले त्यहीं दिन बेलुका भन्नु भयो। म फेरि केही बोलिनँ।

राती उनलाई सुनाएँ, विवाहको प्रस्ताव आएको छ भनेर। “ए”, उनले भनिन्, केही निरास भइन् सायद। तर मैले कयौं पटक विवाहको प्रस्ताव राख्दा इन्कार गरेकी उनलाई सायद दुखी हुनु जरुरी थिएन। तर के जान्नु मान्छेको मनको कुरा। “हुन्छ। विवाह गर, सायद तिमीलाई मलाई भुल्न पनि केही सजिलो हुन्छ त्यस पश्चात” उनले थपिन्। म केही बोलिनँ, मलाई थाहा थियो, विवाह गरे पनि मैले उनलाई भुल्ने छैन र सायदै म आफ्नी श्रीमतीलाई उनलाई गरे झैं माया गर्ने छु भनेर। सोचे रातभर, र विवाह गर्ने निष्कर्षमा पुगे। किन? थाहा छैन।

भोलि पल्ट बिहानै आमा बुवासँग कुरा गरें अनि काका लाई फोन गरेर हुन्छ भनें। केटीसँग भेटघाट कुराकानी भयो, टीकाटालो भयो र बिहेको मिति टुंगो लाग्यो। गरुङ्गो मुटु लिएर बिहेको कार्डमा उनको नाम लेखेर पठाएँ उनीलाई। त्यो दिन पछि हाम्रो कुराकानी भएन। मैले कयौं म्यासेज पठाएँ, कुनैको जवाफ आएन। हरेक दिन आत्मग्लानी हुन्थ्यो तर अब मेरो विवाह हुने नै थियो। आज सम्म उनको reply आएको छैन, सायद उनी बिहेमा पनि आउँदिनन्, मैले अड्कल काटेँ।

आज, मेरो विवाहको दिन। बिहानै देखि बाहिर रमझम छ, जन्ती जाने तयारी हुँदै छ। पन्चे बाजाको धुन बज्दै छ। साथीभाइ आफन्त हरु निकै दिन देखि यतै छन्, कोही तस्बिर लिँदै छन् कोही मेरो लुगा मिलाउँदै छन्, उल्लासमय वातावरण छ जे हाेस्। मनमा एक प्रकारको बतास चलेको छ। एक प्रकारको उमङ्ग छ अनि एक प्रकारको अफसोस। आज म अरु कोहीलाई बेहुली बनाएर यो घरमा भित्र्याउँदै छु तर मेरो मनमा अझै उनको शासन छ। अनेक कुरा मनमा लिएर म गाडीमा बस्छु। जन्ती प्रस्थान गर्छ। बीच बाटोमा फोनको घण्टी बज्छ। खोलेर हेर्छु, उनको म्यासेज, ” आज तिम्रो विवाहको दिन, म पनि आज विवाह गर्दै छु। ढिला भनेकोमा माफी तर यही म्यासेज भयो तिम्लाई निम्तो। फुर्सद भए आउनु, सेतो घुम्टो ओडेर तिम्रो पर्खाइमा हुनेछु। जन्ती हैन मलामी लिएर आउनु, तिम्रो पर्खाइमा हुनेछु। ” मेरो नजर धमिला हुँदै गए र बाहिर बजिरहेको पञ्चे बाजाको धुन बिस्तारै मलिन हुँदै बन्द भयो।

Part 2: घुम्टो:एक अज्ञात अध्याय

Leave a comment