शुन्यताको प्रतिध्वनि

Originally Published : Aug 26, 2024

(This story may feel incomplete, at multiple points. And yes, I do concede. Thing is, I have overwhelmingly excessive ideas for this one and just cannot process everything at once. Maybe after some years from now, if I revisit it, I might add on to it and make it feel more complete. For now, hope you enjoy reading this as it is)

सन्ध्याको समय, हामी यात्रा गरिरहेको बस एकनासले अघि बढिरहेको थियो। पहाडको घुम्ती बाटो - सूर्य घरी अस्ताउँथ्यो फेरि अर्को घुम्ती पछि थोरै देखिन्थ्यो र फेरि अस्ताउँथ्यो। यो यात्रा केही खास थियो मेरो लागि। या भनौँ हामी दुवैको लागि। यो हाम्रो पहिलो लामो यात्रा थियो। गन्तव्य - यहाँ बाट पहिलो दिन नेपालगन्ज पुगेर त्यहाँबाट सुर्खेत हुँदै रारा सम्म। तर मलाई लाग्दैन उनलाई गन्तव्यको कुनै पर्वाह छ। न मलाई छ। यो यात्राका पलहरु नै गन्तव्य भन्दा मीठा रहनेछन्। यसरी यादहरु सँगाल्ने अठोट सहितको यात्रा थियो यो।

"यो त्रिशुली कहिले अघाएन है"

"अँ, अस्ति भर्खर पनि दुइटा गाडी खसेर बेपत्ता भए अरे"

हामी भन्दा अघिल्तिर बसेका दुई जना कुरा गर्दै थिए। उनको यो पहिलो लामो यात्रा, थोरै अत्तालिएको थिई। झन् गाडी खसेको कुरा सुनेपछि त उनले मेरो हात झन् कसेर समातिन्। थोरै डर उनको आँखामा पनि स्पष्ट झल्किन्थ्यो। मैले केही हुन्न भन्ने भावले उनलाई हेरेँ । उनी केही सम्हालिइन्।

"अब झ्यालमा बस्ने पालो मेरो।" अँध्यारो छिप्पिन लागेको बेला उनले भनिन्। "लौ यो अन्धकार हेरेर बस" भनेर मैले हाँस्दै झ्यालको सिट उनलाई छोडीदिएँ। उनी ठुस्स परेर कुना तिर सरिन् र अँध्यारोले निल्दै गरेको पहाडहरु हेर्न थालिन्। बीचमा त्रिशुली आफ्नै गतिमा सुस्ताउँदै थियो। पर पहाडमा डढेलो लागेको थियो। अँध्यारो पहाडमा आगोका लप्काहरु अत्यन्तै सुन्दर देखिएका थिए। त्यो मधुर उज्यालो उनको आँखामा आशलाग्दो गरी टल्किरहेका थिए। त्यो आँखा देख्ना साथ मेरो अन्तरमनमा द्वन्द सुरु भयो।

***

"थाहा छ? मेरो एउटा सपना के हो?" मैले एक बालक झै उनलाई प्रश्न गरें। "अहँ" उनले जवाफ फर्काइन्। "ल सुन म भन्छु।"

"हामी एउटा गन्तव्यहीन यात्रामा जाने रे। पहाडहरू छिचोल्दै अध्यारोमा बसमा यात्रा गर्दै। त्यो बेला पर पर डाँडामा डढेलो लागेको हुनु रे। तिमी झ्यालमा बसेर त्यही बाहिरी संसारमा डुबेको हुनु र म चै तिम्रा ति नयनहरुमा। रात छिप्पिँदै गएपछि तिमी आफ्नो शिर मेरो काँधमा बिसाउनु रे। एकोहोरो हिँडिरहेको बसको मधुरो reading light मा मेरो काँधमा निदाईरहेकी तिमीलाई देखेको सपना देखे त म कसम सधैं त्यही सपना मै भईरहुँ। अरु केही नभए नि हुन्छ।"

"ल ल भयो। अहिले त विपना हो क्यारे" उनी बीचैमा बोलिन्।

"पख न सकेकै छैन"

"अनि के भयो?"

"अनि, बिहानी। हामी बसबाट कुनै नदी किनारमा झरेको रे। बालुवा र पृथ्वीलाई आफ्नो खुट्टामुनि महसुस गर्दै किनारै किनार हिँड्दै गएको रे। अनि कुनै घाँसे मैदान निर रोकिएर त्यही पल्टिएर आकाशमा बिहानीको मिर्मिरे सँगै विलाउँदै गएका ताराहरु हेर्दै बसेको रे।"

"अनि?"

"अनि खै, त्यति हो।"

म जति उत्साहित भएर उनलाई यी सपनाहरु सुनाउँथे उनी कहिल्यै त्यति उत्साहित भएर सुन्दिन थिई। उनलाई यी सपनाहरु बेकम्फुसे लाग्थे। त्यही भएर हरेक चोटी यस्तो कुरा गर्दा उनी मलाई romantic film हरु धेरै नहेर्न भन्थिन्।

खै किन हो। मेरो मायाले उनलाई कहिले पनि पुग्दैन थियो। यस्तो लाग्थ्यो की उनको मन त्रिशुली, र मेरो माया हरेक बर्खामा त्यहाँ विलीन भई जाने सवारी। जसरी डुब्ने त्रासले गाडी गुड्न रोकिँदैनन् त्यसरी नै मेरो मन उनलाई प्रेम गर्न रोकिँदैन थियो। रोकियोस् पनि कसरी, उनकै आगमनले पछि त मैले रातीको आकाशमा शून्यताको सट्टा सुन्दरता देख्न थालेको थिए। हरेक साँझ रमाइलो लाग्न थालेको थियो।

तर सधैं रमाइलो नै सपना देखिन्छ भन्ने हुँदैन। कैले कहीं त ऐंठन पर्छ। त्यस्तै गरी एक दिन अर्को सपना देखें मैले। सपनामा आकाश थियो, धर्ती थिएन। रित्तो आकाश। रित्तो संसार। न कतै फूल फुलेको थियो न कतै जिन्दगी चलेको। त्यस्तै भयो हाम्रो सम्बन्ध पनि। रित्तो। खाली। सुनसान। उजाड।

***

बिछोड पछिको मोड सारै गारो थियो मेरो लागि। उनको याद भुलाउन म अक्सर पशुपति गई धुवाँको मुस्लो हेरेर बस्थे। त्यही पशुपतिको घाट किनारमा मैले पहिलो चोटी उनीलाई देखें। सायद उनी पनि केही पीडा भुल्याउन त्यहाँ पुगेकी थिई। उनी म भन्दा अलि पर बसेर त्यही धुवाँ हेरेर बसी रहेकी थिइन्। पहिलो चोटी देख्दा त उनीसँग केही कुरा भएन। तर फेरी फेरी त्यही ठाउँमा देखादेख भइरहँदा कहिले न कहिले त कुरा हुनु नै थियो।

"तपाईंले पनि यो धुवाँ हेर्दै आफ्नो मन जलाउन खोज्नु भएको हो कि क्याहो।" एक दिन उनले सोधिन्।

"खरानी भइसकेको मन अझै जल्न सक्छ र?" मैले उल्टै प्रश्न गरे।

"गज्जबको कुरा गर्नु हुँदो रैछ तपाईं त।"

यो भन्दा धेरै हाम्रो त्यो दिन कुरा भएन। त्यसपछिको केही समय उनीलाई देख्दा पनि देखिनँ। हुन त सधैं सधैं घाट जाने सिलसिला टुटिसकेको थियो। उनको यादले दिएको चोट बिस्तारै मथ्थर हुँदै थियो। त्यही पनि कैले घाट कैले जङ्गल चहार्दै घुम्थे। यही घुम्ने सिलसिलामा अब त उनी म जता जत जान्छु उतै उतै उनी भेटिन थालिन्। कहिले मृगस्थलीको जंगलमा, कहिले स्वयम्भूको डाँडामा, कहिले विष्णुमतीको तीरमा। एक दिन त सारै भयो मैले उनीलाई प्रश्न गरे, "के हो म जता जता जान्छु उतै उतै आउँछौ त। मेरो पीछा गरेको हो र?"

"तपाईं पनि त म जता जता जान्छु उतै उतै भेटिनु हुन्छ। तपाईंले पो मेरो पीछा गर्नु भएको हो र?" उनीले उल्टै प्रश्न गरिन्। यसरी नै विस्तारै विस्तारै हाम्रो कुराकानीको सिलसिला र भेटघाटको सिलसिला बाक्लिदै गयो।

दर्शनशास्त्र, मानव सभ्यताको विकास लगायतको कुरामा उनीलाई विशेष चासो थियो। मेरो पनि पढाई यही सम्बन्धित भएकोले हामीलाई कुरा गर्न खासै समस्या हुँदैन थियो। यी विषयहरुमा अहिलेसम्म भएका शोध, अनुसन्धान, त्यसको सारबारे हामी तर्क वितर्क गरिरहन्थ्यौ। "मलाई सबै उत्तर थाहा छ, तपाईं प्रश्न गर्नुस् !" उनी बडो अहम् सँग भन्थिन्। म पनि उनीलाई गलत साबित गर्न गाह्रो भन्दा गाह्रो प्रश्न सोध्ने गर्थे तर उनीसँग सधैं त्यो प्रश्नको जवाफ हुन्थ्यो। हामी बिच प्राय वैज्ञानिक कुराहरू हुने गर्थ्यो किनकि भावनात्मक कुरा गर्न म मा न कुनै शक्ति थियो न सामर्थ्य नै। सायद उनले पनि यो कुरा राम्ररी बुझेकी थिइन्।

"तिमी जीवित किन छौ? के अर्थ छ तिम्रो यस संसारमा?" एक दिन मैले उनीलाई प्रश्न गरे। मलाई उनको जीवनप्रतिको धारणा के छ जान्नु थियो। उनले भन्न थालिन्," म एक पटक मुस्ताङ घुम्न गएकी थिए। एक्लै। त्यहीबेला मैले प्रथम पटक चिसो हावामा सास फेर्दै ताराहरु हेर्दै रात कटाएको थिए। कहिले म तराईको जंगलहरूमा भौंतारिदै हिँड्थे, बाघका पाइला खोज्दै। अहिले पनि म कहिले काँही बादलहरु भन्दा अग्ला डाँडामा चडेर सूर्य अस्ताएको र उदाएको हेरेर बस्छु। नपुग्दो केही छैन, आफ्ना सपनाहरु पछ्याएकी छु । र एक दिन मैले यस काठमाडौंको कोलाहल बिच तपाईंलाई पनि त भेट्टाएँ। यी सबै कुरा एउटा समानता छन्, यी सबै सुन्दर छन्। र फेरी, मैले धेरै पटक गर्दै नगरेको गल्तीको सजाय भोगेकी छु। मानिसहरूले लगाएका अनेक लाञ्छना सुनेकी छु। आफ्नै नजरमा आफैलाई धिक्करेकी छु। धेरै प्रयास गर्दा पनि असफल भएकी छु। यी सबै कुरामा पनि एउटा समानता छन्, यिनीहरूले मलाई जीवनको कमजोरी देखाएका छन्। पाठ सिकाएका छन् जीवन सधैं समान हुन्न भनेर। आखिर के नै हो र जिन्दगी। हिजो सम्म थिएन। भोली फेरी यहीं आर्यघाटमा जल्ने नै हो। यो बीचको केही समयमा खोज गर्नु नै मेरो लागि जीवन हो। खोज आफै भित्र। खोज आफ्नै विभिन्न आयामहरुको। जीवनको वेग सँगै मलाई बग्दै जानु छ, कहिले दार्शनिक भएर, कहिले वैज्ञानिक भएर। मेरो खोज अझै सकिएको छैन त्यसैले म जीवित छु।" यो जवाफ सुनेर त मेरो पुरै शरीर नै सिरिङ्ग भयो। यति गहिरो जवाफ पाउँछु भनेर यो प्रश्न सोधेको पनि थिइनँ। उनको यो जवाफ यस्तो लाग्यो मानौं मेरो मरुभूमि भइसकेको मनमा वर्षात बनेर बर्सियो। सुकिसक्यो भनेको नदीनालाहरूमा फेरी मूल फुटेर पानी बग्न थाल्यो। के मेरो मनको मरूभूमिमा फेरी एक पटक प्रेमको बीऊ रोपिदै थियो? फेरी प्रेमको विरुवा उम्रियो भने के म मा त्यसलाई स्याहार गर्ने क्षमता छ? यस्तै विश्लेषण गरेर म केही लेखहरू लेख्न थाले।

एक दिन हामी सधैं झै विष्णुमतीको किनारै किनार हिँड्दै थियौं। उनले भनिन्, "मैले तपाईंको लेखहरू पढेको थिए। ती सारै दुःखी छन्। मायाप्रती यति घृणा किन? यति वितृष्णा किन? यति नकारात्मक किन? अरूलाई त भैगो छोड्नु, कम से कम आफैलाई त माया गर्नु।" मेरो फोनको नोटमा लेखिएको लेखहरू जुन कतै प्रकाशित थिएनन्, त्यो उनले पो कसरी पढिन्। खैर त्यतातिर ध्यान गएन। मैले जवाफ फर्काए, "मैले माया गरेका मानिसहरू मसँग टाढिनछन् मात्र। भैगो, मलाई आफैसँग टाढिनु छैन।" "यी सबै वाहियात कुरा हुन्। सबै जना एक दुई जना टाढिए भन्दैमा सबै टाढिनछन् भन्ने कहाँ छ र।" उनले भनिन्। म चुप रहे।

"खै दिनुस् मलाई तपाईंको माया। म सम्हालेर राखिदिन्छु पनि। टाढिएर कतै जान्न पनि। जब तपाईंलाई आवश्यक हुन्छ फिर्ता माग्नुहोला। म दोब्बर गरेर फिर्ता गर्दिन्छु" उनी अझै रोकिइनन्। उनका यी कुराहरू मेरो मनमा उम्रिँदै गरेको विरुवामा मलको काम गर्दै थिए। र म यहीं दुविधामा रुमल्लिँदै थिएँ कि यो विरुवालाई उखालेर फ्याल्दिम की अझै हुर्काम। हुर्काउन मन नलागेको हैन तर हुर्किसक्दा सम्म स्याहार नपुग्ने जोखिम पनि त थियो। तर उनले नै त भनेकी थिइन्, यो एक पटकको जिन्दगीमा जोखिम नै नलिए यसको भरपुर आनन्द उठाउनै सकिन्न। सबै आयामहरू खोज हुनै सक्दैन। त्यसैले सायद कहिले कँही जोखिम उठाउनु पनि जरुरी हुन्छ।

सायद त्यहीं दिनको संवाद पछि मलाई विस्तारै फेरी प्रेम हुँदै गयो। आफूप्रति। र उनीप्रति। मेरो मनले पनि बुझिसकेको थियो, सधैं डराएर हुँदैन भनेर। समुद्र आफ्नो समयानुसार खतरनाक भइरहन्छ तर पनि त त्यसमा जहाजहरू कुद्छन्। म चै किन डराउने होला? मैले आफैलाई प्रश्न गरे। यसपछि हाम्रो भेटहरु झन् बाक्लिदै गए। अब त्यो बैरागलाग्दो आर्यघाट छोडेर हामी अर्कै ठाउँमा भेट्न थालेका थियौं। सायद हामीलाई देखेर अरूलाई ईर्ष्या हुँदो हो। हामी जहाँ जहाँ गए पनि मानिसहरू हामीलाई आश्चर्यभावले हेर्ने गर्थे। तर हामीलाई त्यसको कुनै पर्वाह थिएन।

विस्तारै दिनहरू सहज हुँदै थिए। मेरो सबैकुराबाट हटेको रुचि फेरी जाग्दै थियो। पढाई, अनुसन्धानमा पनि रुचि बढ्दै थियो। साँच्चै नै मेरो श्यामस्वेत भइसकेको जीवनमा उनी इन्द्रेणीको ७ रङ्ग बनेर आएकी थिइन्। कहाँ बाट आइन् कसरी आइन् त्यो सबै जवाफ त अहिले मसँग छैन तर जसरी जहाँबाट आइन् मेरो लागि अँध्यारोमा डोर्याउने बत्ती बनेर आइन् र त्यसको लागि म निकै कृतज्ञ छु।

कोहीसँगको सम्बन्ध कस्तो निकट हुन्छ। आफ्नै एक भाग झै। उनीसँग मेरो सम्बन्ध अब लगभग त्यस्तै भइसकेको थियो। हाम्रो विचार, धारणा लगभग हरेक कुरामा एउटै हुन्थ्यो। उनी जहिले त्यहीँ कुरा गर्थिन् जुन मलाई सुन्न मन हुन्थ्यो। र सायद म पनि। हामी एक अर्कासँग घण्टौं कुरा गरेर समय बिताउन थाल्यौँ। कहिले फोनको इनबक्समा, कहिले दरबार क्षेत्र तिर कहिले विष्णुमतीको किनार तिर। उनको सामिप्यताले मेरो चिसो भइसकेको मन फेरी न्यानो भइसकेको थियो।

यसै बिच हामीबीच कतैको यात्रामा गएर एक अर्कासँग अझ धेरै समय बिताउने, अझै धेरै कुराहरु बुझ्ने बुझाउने कुरा भयो। हुन पनि त एउटा यात्राले उनको लुकेको कुनै आयामलाई बाहिर ल्याउन सक्थ्यो। म उनलाई अझ राम्ररी बुझ्न सक्थे होला। सायद उनलाई पनि त्यस्तै लागेको हो। यस कुरामा हामी सहमत भयौँ र गन्तव्य तय भयो, रारा।

***

बिहान मिर्मिरे उज्यालो हुँदै थियो। बस आफ्नै रफ्तारमा कुदिरहेको थियो। अब त तराईको बाटो, एकदम वेगमा थियो गाडी। बसमा मधुरो नीलो बत्तिमात्र बलिरहेको थियो। सबै यात्रीहरू निदाएकै थिए। उनी पनि मेरो काँधलाई आड लगाएर निदाई रहेकी थिइन्। झ्यालको पर्दा थोरै हटाएर मैले बाहिर एक नजर हेरेँ। त्यति उज्यालो भइनसकेकाले खासै केही देखिएन। पर्दा फेरी बन्द गरेर मैले आँखा चिम्म गरें।

"सिट नै सिट छ। Express गाडी हो आधा घण्टामा नेपालगन्ज पुगिन्छ" सह चालकको आवाजले म ब्युझिए। ऊ बाहिरका एक हुल यात्री भित्र हाल्न खोजिरहेको थियो। लगभग ७/८ जना यात्रीहरू गाडीमा प्रवेश गरे र खाली सिटहरुमा बस्न थाले।

यस्तैमा करिब ५० वर्षको अधबैँसे मान्छे आएर मलाई सोध्यो, "भाइ, झ्यालतिरको सिट खाली रैछ त, म बसौँ?"

***

Leave a comment