उनी

Originally Published : June 15, 2024

साँझको समय, बाहिर पानी परिरहेको भए पनि क्षितिजमा अस्ताउन लागेको घामको किरणले म बसिरहेको कफी पसल सुनौलो भएको थियो । बाहिर मानिसहरू छाता लिएर आफ्नो गन्तव्य तिर लागिरहेका थिए । छाता नहुने कोही चै हातले टाउको छोपेर ओत लाग्ने स्थानको खोजीमा थिए। कफी पसल पनी लगभग सुनसान थियो । पसलमा थिएँ त बस् म अनी एउटा जोडी।पक्कै पनि आज शुक्रबारको दिन दुःख सुख का कुरा साट्न बसेका थिए । तिनीहरूलाई देखेर मलाई पनि आफ्नो अतीतको दिनहरू याद आयो। म कल्पना मै हराउन थाले।

साँच्चै, ती दिनहरु निकै रमाइला थिए। उनी र मेरो सम्बन्ध सुनौलो थियो। माया, मित्रता, यस्ता सरल शब्दहरूले बयान हुन नसक्ने थियो हाम्रो सम्बन्ध । हुन त मैले कहिल्यै भनिन म उनलाई कति मन पराउँछु र उनी नै मेरो सबैथोक हुन् भनेर न त उनले नै केही भन्थिन् । तर मलाई लाग्थ्यो उनी पनि मलाई उत्तिकै नै मन पराउँछिन्। सत्यता के हो त्यो त उनलाई नै थाहा होला। कहिल्यै आँट गर्न सकिनँ यसबारेमा मैले केही सोध्न उनलाई ।

उनी.. उनी मेरो बाल्यकाल देखिको नै साथी थिइन् र उनीलाई पहिलो पल्ट भेटे देखि नै उनी मलाई मन पर्थिन्। सानो मिलेको अनुहार , लामा परेला , दुई चुल्ठी बाटेको कपाल, निकै सुन्दर थिइन् उनी। उनको कालो गहिरो आँखामा मैले संसार देख्न सुरु गरिसकेको थिएँ। म फेरि लजालु स्वभावको, गएर बोल्न सक्दैन थिए । तर भन्छन् नि जोडी त भगवानले नै बनाएर पठाएको हुन्छन् र तिनीहरूलाई एक हुन बाट कसैले रोक्न सक्दैन भनेर। त्यसै गरी समय बित्दै जाँदा उनी र मेरो सम्बन्ध नजिकिँदै गयो। निकै समय सँगै बिताउनु, राती अबेरसम्म कुराकानी गरेर बस्नु , तर्कहिन कुरा गर्नु, एक अर्कालाई जिस्क्याउनु यी कुराहरू दैनिकी झै भएको थियो । सयौं सपना हरु बुनेका थियौं हामीले, ७ जन्म सम्म नछुट्टिने , भविष्यमा सँगै बस्ने आदि त्यादी । जिस्किएर वा यसो कुराकानीमा अनायासै भनिएका भए पनि मलाई ती सपना हरु पुरा हुनेमा ठूलो आश थियो ।

तर सपना सबै पूरा हुँदैनन्। जे पूरा हुन्छन् ती सपना कहिल्यै हुँदैनन्। भाग्यको कस्तो बिडम्बना, हामी बीचको ती खुसी धेरै टिक्न सकेन। बिस्तारै हामीले एक आपसमा गर्ने व्यवहार मा परिवर्तन हुन थाल्यो। परिवर्तन धेरै ठूलो पनि हैन तर भन्छन नि यदि हामी कोहीसँग निकै नजिक छौ भने उनीहरूको व्यवहारमा सानो परिवर्तनले पनि हाम्रो मुटु छिया छिया पार्दिन्छ। उनको बोल्ने शैलीमा परिवर्तन आएको थियो। पहिला जस्तो अबेर राती सम्म कुराकानी हुन छोडेको थियो। कुनै जमानामा मसँग बोल्न मरिहत्ते गर्ने उनले आजकल मेरो मेसेज seen मात्र गरेर छोडने गर्न थालेकी थिइन् । यस्तो नजिकको मान्छे,जसलाई आफ्नो संसार सम्झिएको भइन्छ त्यस्तो मान्छे परिवर्तन हुँदा कसको पो मुटु नदुःखला। अझ मैले त उनलाई साँचो प्रेम गरेको थिएँ।

म उनको पहिलाको र अहिलेको बोल्ने शैली दाज्थे। त्यतिमै मन भक्कानिएर आउँथ्यो। आँखामा आँसुको समुद्र बन्थ्यो । यसरी पुराना दिन सम्झिएर कति रात सिरानी भिज्यो त्यो त मलाई मात्र थाहा छ। उनीसँग बोल्दा भने म कहिल्यै आफ्नो मनमा लागेको दुखेसो पोख्दैन थिए। आफ्नो मनमा भएको चोटलाई हासोँ को पर्दाले छोपीदिन्थे र सकेसम्म सामान्य रूपमा प्रस्तुत गर्थे र जब आफूलाई सम्हाल्न गाह्रो हुन्थ्यो तब कुराकानी बीचमै रोकेर म सुत्न भनेर जान्थे । सुत्न सजिलो त कहाँ हुन्थ्यो र दिमागमा त्यै पुराना दिनको सम्झना झल्झली आउँथ्यो । मनमा अनेकन कुरा खेल्थ्यो तर जसोतसो निदाइन्थ्यो । पहिला उनको रात्रिकालीन शुभकामना भएको सन्देश भएको मेसेज नपढी निन्द्रा नलाग्ने भएको थियो । तर उनले वास्तै नगरे पनि सुत्नु परिहाल्यो । आफ्नो ज्यान हो माया सबैलाई लाग्छ नि।

दिनहरू यस्तै गरी बित्दै थिएँ । मैले बिस्तारै उनका यादहरु कम गर्न सफल भए । माया नगर्न नसकेपनि मैले आफ्नो मन मस्तिष्कलाई माया गर्दिन भनेर सहमत गराएँ। बिस्तारै हामीबीच कुराकानी कम हुँदै अन्त्य नै भयो। उनले मेरो वास्ता गर्न छोडी सकेकी थिइन् । मलाई मनमा अझै कता कता माया रहेको आभाष हुन्थ्यो तर अब कसैलाई परवाह थिएन । यसरी आत्मसम्मानको अगाडि साँचो मायाले घुँडा टेक्यो। ती सबै वाचा र सपनाहरु क्षण भरमै त नभनम तर अन्त्य भयो।

म बसिरहेको कफी पसलले पनि उनको यादहरु दिन्थ्यो। उनलाई मैले एकपल्ट यस्तै मौसम भएको बेला साँझमा कफी खान जाने भनेर प्रस्ताव गरेको थिए र उनीले पनि स्वीकार गरेकी थिइन्। यो घामको किरणले मलाई उनको सुनौलो अनुहारको याद दिलाउने गरिरहेको थियो। अगाडिको कुर्सीमा उनी आएर बसेकी भए घामको किरण ठ्याक्कै उनको अनुहारमा पर्थ्यो। उनको कानको झुम्कामा घाम पर्दा कस्तो राम्री देखिन्थ्यो होला। उनको कालो गहिरो आँखामा पर्दा झन् स्वर्गकी अप्सरा नै देखिन्थी होला। उनको आँखाको खुसी महसुस गर्न नपाएको पनि निकै भइसक्यो । उनको त्यो बालपन नदेखेको पनि निकै भइसक्यो। अहिले उनी कहाँ छिन् के गर्दै छिन् मलाई केही अत्तो पत्तो छैन। +२ सकिएपछि उनीले कहिल्यै मलाई सम्पर्क गरिनन् । हुन त मैले पनि कहिल्यै सम्पर्क गर्ने प्रयास समेत गरिन। उनले १२ सकिएपछि जति सुकै व्यस्त दिन भएपनि दिनमा थोरै भए पनि समय निकालेर मलाई सम्पर्क गर्ने वाचा समेत गरेकी थिइन्।

तर पहिलै भने नि सबै वाचाहरु टुटी गयो भनेर। उनको लगभग हरेक दिन याद आउँथ्यो मलाई। सधैं त नभनम तर जब एक्लै हुन्थे तब मलाई उनको यादले निकै सताउँथ्यो। १२ पछि उनी सँगै भए नेपाल मै बसेर अध्ययन गर्ने विचार थियो तर उनीसँगको बिछोडले मेरो जीवनलाई अर्कै मोडमा हुइक्याई दियो। म अध्ययनको लागी भनेर जर्मनी पुगे। सुनेको थिए उनीले नेपालमै एम.बि.बि.एस गर्दै छिन् भनेर । अहिले त उनीले एम.डि पनि सकिनँ की? पक्कै पनि सकेर कुनै अस्पतालमा कार्यरत होलिन् भनेर मैले आँकलन गरे। मेरो पनि पढाई सकिएको ३ वर्ष भएको थियो र आफैले एउटा सानो कम्पनी खोलेर केहीलाई रोजगारलाई समेत दिएको थिएँ ।

“सर,तपाईंको कफी” ; वेटरले यति भन्ने बित्तिकै म झल्ल्यास भए। बाहिर हेरे पानी पर्न रोक्किसकेको थियो। सडकमा सडकबत्ती बलिसकेको थियो । सडकमा गाडीको चाप पनि पातलो भइसके‌‌को थियो। कफी पसलमा अब म एक्लै बाँकी थिएँ। घाम क्षितिजबाट ओरालो लागिसकेको थियो। उनको बारेमा निकै पछि यति धेरै याद आएको थियो। तल हेरे आँसुका केही थोपाहरू टेबलमा पोखिसकेको थियो। जिउ लाटो लाटो जस्तो भएको थियो। बसेरै टोलाउँ टोलाउँ जस्तो लागिरहेको थियो। उनको यादले दिइरहेको तनाव मेरो रगतमा मुर्छित भएर कतै लडिरहेको थियो। साँच्चै रहेछ कि कसैको याद गर्नु पनि कुनै सजाय भोग्न भन्दा कम नहुने रैछ।

मन यति भक्कानियो की त्यो टेबल मा राखिएको कफी प्युनै सकिनँ। म एतिकै टोलाएर बसिरहेको थिएँ। अब त अबेर भयो निस्कन पर्ला भनेर सोचे। त्यो कफी त्यही छोडेर जानु भनेको म बसेको ठाउँको नै अपमान गर्नु हुन्थ्यो। यति साँझमा मेरै लागि भनेर पसलमा बसेका कामदारलाई सम्झी मैले एकै घुटकीमा कफी सक्काए र पैसा तिर्न काउन्टर तिर लागे । पाइला सार्न समेत अफ्ठ्यारो भयो। जसो तसो पैसा तिरी म निस्किए र आफ्नो गाडीमा गएर बसे। गाडीमा बसेपछि म फेरि एकपल्ट सोचमा मग्न भए।

सायद मेरो भाग्यमा नै खोट थियो। उनीसँग मिलन हुनु सायद मेरो भाग्य मै थिएन। या सायद गल्ती मेरै पो थियो की? उनीसँग टाढिनुमा उनको मात्र गल्ती थियो भनेर नि भन्न मिल्दैन। मैले पनि त उनीसँग सम्पर्क गर्ने कोसिस गरिन। जसरी पहिला कुरामा बाँधेर राख्न सक्थे म मा त्यो सामर्थ्य यसै हराएर गयो। वाचा पूरा उनीले मात्र नगरेकी हैनन् मैले पनि त निकै वाचा हरु पूरा गरेको थिइनँ । मैले पनि त वाचा गरेको थिएँ उनीसँग । उनको महत्व मेरो जीवनमा कहिल्यै कम नहुने भनेर भनेको थिएँ मैले उनलाई तर एक्कासी नै यसरी बोल्न बन्द गर्दा उनको पनि चित्त दुखेको थियो कि? सायद उनलाई पनि म बाट केही आश थियो कि? म सँग मात्र प्रश्न थिए र यी प्रश्नको उत्तर जसलाई थाहा छ उनी आज म बाट निकै टाढा छिन्।

यसैमा पानी फेरि पर्न सुरु गर्छ। सायद मौसमले पनि मेरो भावना बुझेको थियो। म बिस्तारै गाडी सुरु गरेर अगाडि बढ्न थाले। म बसेको ठाउँ सहर भन्दा थोरै भित्र थियो। मानिसको हुल त्यति मन नपर्ने भएकोले मैले नजिकैको जंगलको पारी एउटा घर बनाएको थिएँ। जब म जंगलको बाटोमा अगाडि बढिरहेको थिए तब मैले बाटोमा एक युवती पानीमा छाता ओढेर सडक छेउमा उभिरहेको देखें। रात निकै परिसकेको थियो। उनीलाई कहाँ सम्म जानु पर्ने हो सोधेर पुर्याइदिन्छु , रातको समयमा एक जवान युवती एक्लै हिँड्नु त्यति उचित होइन भन्ने सोच लिएर मैले गाडी उनको नजिकै लगेर रोके। उनी निकै हतासिएकी थिइन्। उनले केही सोच्दै नसोची बोल्दै नबोली सिधै गाडीमा बसिन्। जब मैले उनलाई हेरे तब म त्यो गहिरो आँखामा सिधै डुब्न पुगे। उनको आँखामा मैले पूरै ब्रम्हाण्ड देखिसकेको थिए। यति हुने बित्तिकै मैले उनलाई पहिचान गरिहाले।उनी अरु कोही नभएर मेरी उनी थिइन्। सोचेको समेत थिइनँ उनीसँग फेरि भेट हुन्छ भनेर। तर सायद हामी एक हुनु नै थियो। समय,परिस्थिति,वातावरणले हामीलाई फेरि भेट गरायो । तर उनले मलाई चिनीनन्। चिनोस् पनि कसरी? पहिला भन्दा मेरो अनुहार बदलिएको थियो। दारी पालेको थिए,चस्मा पनि त उत्रिसकेकाे थियो। उनको पनि पूरै शारीरिक बनावट परिवर्तन भएको थियो। पहिला सानी थिइन् अहिले अग्ली भईसकेकी थिइन्। थोरै मोटाएकी रहिछिन् , खुसी लाग्यो! म पहिला धेरै खाउ अनि मोटाउ है भन्दा एक बालक झै “हस्” भन्ने गर्थिन् उनी।

“ओइ जाने हैन?” ; उनको आवाजले म झस्किए । आवाजमा पनि बेग्लै मिठास थियो। म यतिकै टोलाएर उनलाई हेरिरहेको थिए। उनले हातले मलाई झस्काइन्। बल्ल म होसमा फर्किए। “अँ भन कहाँ जाने?” मैले सोधे। उनले आफु त्यो क्षेत्र मा नयाँ भएको र केही थाहा नभएको र साथीले बोलाएको ठाउँमा समेत पुग्न नसकेको भनेर पूरै घटनाक्रम एकै सासमा सुनाइन् र मलाई के गर्दा उचित हुन्छ भनेर सल्लाह समेत मागिन् । मैले रात निकै परिसक्यो आज मसँगै बस भोलि कता जानु पर्ने म नै पुर्याइदिन्छु भनेर प्रस्ताव गरे। उनी धेरै सोच्ने हालतमा थिइनन् सहजै स्वीकार गरिन्। र सामान्य कुराकानी सँगै मैले गाडी सुरु गरेर अगाडि बढाए। उनले आफ्नो बेलीबिस्तार सब सुनाइन् , खुसी लाग्यो उनको विगत राम्रो सँग बितेको रहेछ। थप अध्ययनको लागि जर्मनी आएकी रहिछन्। उनीसँग टाढा रहेको समयमा पनी के के भएको थियो सबै थाहा पाँए। लाग्थ्यो उनीसँग म कहिल्यै टाढा नै भएको थिइनँ। हामी सधैं भेटघाट भइरहेको साथी जसरी बोलिरहेको थियौं।एक आपसलाई “तिमी” भनेर नै सम्बोधन गरिरहेका थियौं।

यतिकैमा मेरो घर पनी आइपुग्यो। मैले उनीलाई भित्र लिएर गए र उनको लागी घरकै सबैभन्दा राम्रो कोठा छुट्याईदिए। उनलाई केही खाने प्रस्ताव गरे उनले “नाई साँझ धेरै केही खान्न ” भनिन्। पहिले देखिको बानी थियो उनको साँझमा केही नखाने । अब यति भनेपछि मैले केही भन्ने कुरै आएन। हामी बिच धेरै नै कुराकानी भयो । आधा रात वित्यो तर हाम्रो कुराकानीमा पूर्णविराम लाग्ने केही संकेत नै थिएन। १ बजे उनले निन्द्रा लाग्यो होला सुत भनिन्। मैले पनि हुन्छ भनेर उनलाई त्यही छोडेर अर्को कोठामा सुत्न जाने तरखर गरे। उनले दुइटा पलङ रैछ त यहीं सुत न भनेर भनिन्। मैले पनि अँ त्यसो गर्दा नि हुन्छ एकछिन अझ बोल्न पाइन्छ भनेर हुन्छ भने। यसपछि हाम्रो कुराकानी बत्ती बन्द गरेर पलङमा पल्टिएर हुन थाल्यो। त्यो बेला यस्तो लाग्यो संसारको सबै भन्दा खुसी मान्छे म नै हुँ भनेर। तर, उनले मलाई नचिनेको भएर चै थोरै मन खिन्न भएको थियो।

बोल्दा बोल्दै कतिखेर निदाएँ पत्तै भएन। मिठो निन्द्रा लाग्यो त्यो रात। मन प्रसन्न जो थियो। बिहान उठ्दा ८ बजेको थियो। उनी कोठामा थिइनन्। एक्लै जान्छु भनेर कतै निस्किन् की? मनमा चिसो पस्यो। तर यति छिटै जान नि नपर्ने। पुर्याइदिन्छु भनेको नै थिएँ। गाको नै भए पनि कम से कम भनेर त जानु पर्ने । उनको फोन नं पनि थिएन। म अत्तालिए। केही सोच्नै सकेको थिइनँ। तब उनको आवाज आयो ” ओइ ढोका खोल न! मेरो दुबै हातमा चिया छ।” उनी त चिया बनाउन किचनमा पो गएकी रहिछिन्। बेकारमा यति चिन्ता लिएको। मैले ढोका खोले र उनी चिया लिएर भित्र आइन्। “चिया मन नपर्ने त होइन होला?” उनीले सोधिन्। म केवल मुस्कुराए। चिया मेरो सबै भन्दा मन पर्ने पेय पदार्थ थियो। “किचन कहाँ छ कसरी था पायौं?” मैले सोधें। “देखेऊ म कस्तो खतरा” उनले जवाफ फर्काइन्। उनमा त्यो बालपन देखाउने बानी अझै गएको थिएन।

“कति माया गर्छौ मलाई?” उनको प्रश्नले म स्तब्ध भए। बोल्नै सकिनँ। “चिन्यौ मलाई?” मात्र यति सोध्न सके । “तिमीलाई चिन्दिन होला त ” उनले उत्तर फर्काइन्। उनी मेरो आडैमा आएर बसिन्। थाहा छैन किन आँखामा आँसुको भेल लाग्यो। “माया गर्छौ थाहा थियो तर यति धेरै गर्छौ जस्तो पनि लागेको थिएन। हिजो राती भएर याद गरिँन तर आज जब म बाहिर गए तब त्यो कोठामा राखेको मेरो ठूलो फोटो देखेर त म स्तब्ध नै भएँ?अनि यो घरको डिजाइन पनि त त्यहीं हामीले सँगै सोचेको…..” उनले आफ्नो भनाई सक्नु अघि नै मैले उनलाई अंगालोमा बाँधे। उनले कुनै प्रतिकार गरिनन्। उनको अंगालोमा नै आँसुको निकै भेल बगाए। “थाहा छ?तिमी बिना बस्न कति गार्हो भयो मलाई?” उनले सोधिन्। मैले झन् कसेर अंगाले उनलाई। उनी चुप लागिन्। यो क्रम लगभग १ घण्टा नै चल्यो। उनको फोनको घण्टी बज्छ। मैले उनलाई छोडदिए र उनले फोन उठाइन्। उनले आफु जानु पर्ने बताइन्। “नाई न! सधैं भरी म सँग नै बस न अनि मलाई सधैं यसरी चिया खुवाउ , सधैँ मेरो नजिक भै राख,अब म बाट यो दूरी सह्य हुने छैन..”; मैले प्रतिकार गर्न खोजे। “नाई न म जान्छु नि बरु हामी भेटीराख्ने नि। मलाई भेट्न आउँछौ नि है?” उनले उत्तर दिइन्। मैले टाउको हल्लाएर स्वीकृति जनाए।

उनी बस्ने होस्टेल मेरो घर भन्दा २ माइल भन्दा थोरै दूरीमा रहेछ। खुसी लाग्यो.. दिनभरि सँगै समय बिताएर साँझ म उनलाई पुर्याउन गए। साथिहरु पर्खी रहेका रहेछन्। उनको साथीसँग पनि घुलमिल हुने मौका पाएँ मैले। सबै जना उनको लागि योग्य साथी थिएँ। साँझ म फर्किने बेला अस्ताउन लागेको सूर्यलाई सुस्केरा हाल्दै मैले सोधें “भोलि पनि हामी भेट्छौ नि है?” र उनले भनिन् “म रात बित्ने प्रतीक्षा गरिरहन्छु” । त्यो रात निकै लामो भयो हामी दुबैको लागि , रातको हरेक सेकेन्ड एक वर्ष झै लागिरहेको थियो।

सायद माया का पलहरु यस्तै खास होलान्,अहिले भेटेर छुट्ने बितिक्कै पनि भोलि कहिले होला र उसलाई देखौँ भनेर रातभरी छटपटी भइराख्ने।

अनि सबै रातको कहानी एउटै, बिहानीको पर्खाइ।

प्रेम भनेकै पर्खाई हो

एउटा रमाइलो पर्खाइ

❤️❤️

Leave a comment