पुरानो कागज

Originally Published : २०८१.०३.०६

एक शान्त शीतल सन्ध्यामा

यो कलम बस् एक टकले

यो कागज माथि अडी रहेछ

यसको नीब जुन एक समयमा

शून्य छायाबाट संसारहरू सिर्जना गर्थ्यो

आज बस् एक टक ले

यो कागज माथि अडी रहेछ

त्यो पुरानो उत्सुक कागज

जुन सदा कलमलाई आफूमाथि

मसी पोखाउन दिरहन्थ्यो

मायाका कयौ शब्दहरू

कालो रङमा समेटेर राखिरहन्थ्यो

रेखा र धर्साहरु बिच लुकामारी खेलिरहन्थ्यो

आज बस् एक टक ले

आफ्नो शून्यता भर्न कलामलाई पर्खिरहेछ

वर्षौंसम्म कलम र कागज बिच

मौन संवाद चलिरह्यो

कलम मसी बगाई रहने

कागज ग्रहण गरिरहने

अदृश्य लिपिहरूमा लेखिएको उनीहरूको बन्धनले

कयौं शब्दहरू कोर्यो, कयौं कथाहरू उभ्यायो

हराउँदा यादहरु र सपनाहरु सजायो

तर आज यो मसिको रङ्ग, फिक्का, फिक्का

कलमको चाल, सुस्त, सुस्त

कारण, एक नयाँ कागज

सर्लक्क सफेद

एक नया कागज

यो सँगै कलमको निब अब दुईतिर

एकतिर परिचित पुरानो कागजको लालसा

अर्को तिर नयाँ कथा रच्न सकिने नयाँ कागजको मोह

कलमले मसी पोख्न थाल्यो, नयाँ कागज तिर

पुरानो कागजलाई एकान्त कुनामा छोडेर

त्यो पुरानो कागज त्यही कुनामा रहिरह्यो

मसीका आधा अधूरा दागहरू त्यही खत बनी बसिरह्यो

ती पुराना सुकेका मसीका अवशेषहरू त्यही विगतका हरफहरू सुनाउँदै झुन्डिरह्यो

र त्यही धुलाम्मे कुनामा,

अधुरा सपनाहरूले बुनेको, मौनताको अधुरो कथा कहिरह्यो

Leave a comment