ओइलाएको फुलको माला

Originally Published : २६/०२/२०८०

कहीं कतै मुटुको गहिराइमा एक बगैंचा थियो।

बगैंचा प्रेमको।

बगैंचा जहाँ उनको प्रकाशमा फूलहरू धपक्क फुल्दथे।

र म, त्यस बगैंचाको माली।

म प्रयास गर्दथे, स्नेहको बीउ रोपी आशाको फूल फलाउने।

बगैंचामा मौरीहरू डुल्दथे भुन भुन भुन भुन।

गीत गाउँदथे।

गफ गर्दथे जुन बस ती मौरीहरू र बगैंचामा चल्ने हावाको सिरेटोले सुन्दथे ।

मौरी हरु खुसीले नच्दाथे ती बेनाम जंगली फूल हरु बीच।

तर अफसोस, वसन्त लाग्न पर्ने चैत्र मासमा खडेरी परिदियो।

बगैंचाका सबै फूलहरु सुकी गए, ओइलाई झरे।

र हरियो त्यो बगैंचा, उजाड, सुनसान।

फूल नभएको बगैंचा मा मौरी पनि के डुल्थे र

अब, उडी गए, कहीं कतै अर्कै बगैंचामा।

अर्कै माटोमा फुलेका फूलहरू चुम्नलाई।

र म अब, त्यो उजाड बगैंचाको माली।

यही बगैंचामा बस्दछु अझै, ती ओइलाएर झरेका फूल र पातहरु बिच।

मन परेको फूल, सुके पनि रसिलो।

कहिले काँही झल्को आउँछ, ती रङ्गीन फूलहरूको।

ती फूलका बास्नाहरुको।

सपनामा आई ती मौरीहरू अझै नाच्दैछन्।

गीत गाउँदै छन्।

प्रेमका धुनहरु भुनभुनभुनभुन।

तर जब उठ्छु, उजाड, सुनसान।

अब बस पर्खाइ छ नयाँ वसन्तको।

ती आकासबाट बर्सिने पानी को, जसले यो उजाड मरूभूमिमा फेरि हरियाली लिएर आउने छ।

तब फेरि म रङ्गीन फूलबारीको माली बनुला।

तबसम्म बस यही ओइलाएको फूलको माला बुन्दै बसिरहने छु,

यस उजाड सुनसान बगैंचामा

Leave a comment